रौतहटमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बिहीबार बसेको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको समयावधि थप्ने निर्णय गरेको हो । यसअघि पहिलोपटक जारी भएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिँदैछ । कोरोना संक्रमणको दर बढ्दै गएकोले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको समेत उनले बताए । बिहीबारसम्म जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ भने संक्रमितको संख्या ५९० पुगेको छ । अहिले जिल्लामा ४८६ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मोरङ जिल्लामा निषेधाज्ञा दश दिन थपिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ २ गतेबाट लागू हुनेगरी दश दिन निषेधाज्ञा थप गरिएको हो । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको उनले बताए । निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक लगाइएको छ । भौतिक निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको ढुवानीका लागि पनि बिहान १० बजेसम्मको मात्रै समय तोकिएको छ ।
प्रशासनले उद्योग क्षेत्रमा पनि कडाई गर्ने निर्णय गरेको छ । यस अघि औद्योगिक मजदूरलाई घरबाट उद्योगसम्म जान छुट थियो । तर अब भने घरबाट उद्योग जान नदिने निर्णय भएको छ । उद्योगकै आवास गृहमा रहेका मजदूर प्रयोग गरेर उद्योग सञ्चालन गर्न पाइनेछ । सङ्क्रमण बढेकाले बाहिरी मजदूरको आवत–जावत रोक्ने निर्णय भएको उनले बताए।
सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । बजार क्षेत्र पनि बन्द रहनेछ । बैंकको सेवा व्यवस्थापनका लागि राष्ट्र बैंकसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । उनकाअनुसार बैङ्कलाई अनलाइन कारोबार गर्नका लागि आग्रह गरिएको छ । प्रशासनले खाद्यान्न सागसब्जी, दूधलगायत अत्यावश्यक बस्तुको बिक्रीका लागि बिहान १० बजेसम्मको समय तोकेको छ ।
प्रतिक्रिया