काठमाडौं– पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ । वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो । अब जारी निषेधाज्ञा जेठ १० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
यस्तै झापामा पनि थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो । पहिलो चरणको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो । कोभिडका बिरामी जिल्लामा बढेको र मृत्यु दरसमेत उच्च रहेको पाइएपछि निषेधाज्ञा जेठ ७ गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।
प्रतिक्रिया