फोहोर संकलन कार्यमा खटिएका नेपाली सेनासहितको संयुक्त टोलीले सगरमाथाको क्याम्प–२ मा मानव कंकाल फेला पारेको छ ।
संकलित फोहोरलाई बेस क्याम्पमा रि–प्याकिङ गर्ने क्रममा मानव कंकालको दायाँ हात र बायाँ पाखुरा फेला परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।
वैशाख २८ गते फेला परेको मानव कंकाललाई सोही दिन सगरमाथा बेस क्याम्पबाट हेलिकोप्टरमार्फत लुक्ला पठाएको र आवश्यक प्रक्रियाका लागि लुक्लास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइएको पनि निर्देशनालयले जनाएको छ ।
यस्तै सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
उनका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो ।
यस्तै शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो क्याम्पमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिइन् । उनीहरुको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया