प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न जान्छौँ । त्यसको तयारी भइरहेको छ । बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न नेताहरुसँग छलफल पनि जारी छ ।’
देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ ।
मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल गरेका थिए । ठाकुरका सम्धी उमाकान्त झाको निवासमा उनीहरुबीच छलफल भएको थियो ।
देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दिए ।
प्रतिक्रिया