प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् । असन्तुष्ट झलनाथ खनाल माधव नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न अन्तिम प्रयास कसरी गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको ओली निकट एक स्थायी समिति सदस्यले जानकारी दिए ।
उनका अनुसार खनाल नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न आज अन्तिम प्रयास गरिनेछ । बैठक बालुवाटारमा सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकको एजेन्डाबारे त्यही छलफल हुने भएपनि केही महत्वपुर्ण निर्णय हुनसक्ने अपेक्षा आफुले गरेको बताए ।
‘एमालेको आन्तरिक जीवनमा केही महत्वपुर्ण निर्णय हुन्छ कि भन्ने मलाई लागेको छ’, नेम्वाङले भने, ‘हामी अत्यन्तै संवेदनशील मोडमा छौ ।’
यसैबीच ओली समूहका नेता तथा अर्थमन्त्री विष्णु पौडेल नेता नेपालसँग छलफल गर्न आज बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेर पौडेलले राजीनामा नदिन आग्रह गरेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।
यस्तै विपक्षी गठबन्धनलाई सरकार बनाउने दाबि पेश गर्ने आज अन्तिम दिन रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज वैशाख ३० गते साँझसम्ममा प्रधानमन्त्री पदमा दावी पेश गर्नलाई आह्वान गरेकी छिन्। सो समय आज बेलुका ९ बजेबाट सकिने भएको हो ।
यस अवधिमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यले प्रधानमन्त्री पदमा दावी पेश गर्नु पर्ने छ। नेपाली कांग्रेसको नेतृत्वमा कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम (उपेन्द्र समुहले सरकार बनाउनको लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया