सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पुर्याउने बाटो खुल्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् ।
गत २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसदिन उनीहरुले राजीनामा नगर्ने बरु संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए । यो समूहका सांसदहरुले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए ।
बुधबार बसेको माधव–झलनाथ पक्षको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन केपी ओली लागिरहेको ठहर गर्दै ओलीको विस्थापनका लागि निकास दिन जरुरी रहेकाले कठोर निर्णय गर्न बाध्य भएको एक स्थायी समिति सदस्यले बताए ।
राजीनामा दिन तयार भएका सांसदहरुमा नेता नेपालसहित झलनाथ खनाल, योगेश भट्टराई, जयकुमार राई, भवानी खापुङ, यज्ञराज सुनुवार, गणेश पहाडी, पवित्रा निरौला खरेल, जीवनराम श्रेष्ठ, नारायण खतिवडा ,विरोध खतिवडा ,सुरेन्द्र पाण्डे ,घनश्याम भुसाल , गोकर्ण विष्ट,मेटमणि चौधरी , झपट रावल ,दीपकप्रकाश भट्ट,भीम रावल,,कृष्णलाल महर्जन,सोमप्रसाद पाण्डे रहेका छन् ।
यसैबीच माधव–झलनाथ समूहका अर्का नेता घनश्याम भुसालले पनि बुधबार सामाजिक सञ्चालमार्फत केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताउँदै राजीनामाको बाटोमा जाने स्पष्ट संकेत गरेका छन् ।
प्रतिक्रिया