रोकियो नेपाल–खनाल समूहका सांसदको राजीनामा, के होला प्रधानमन्त्रीको विश्वासको मत ?

४ बर्ष अगाडि

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूह सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । साथै तत्काल राजीनामा नदिने निर्णय पनि गरेका छन् ।

सामूहिक राजीनामा दिने तयारी भए पनि केही सांसदले यसको विरोध गरेपछि उनीहरु यो निर्णयमा पुगेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले पार्टी अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । 

ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिदै छन् । खनाल–नेपाल समूहका सांसद उपस्थित नहुने भएपछि ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ । नेपाल–खनाल समूहका कति सांसद अनुपस्थित हुन्छन् भन्ने यकिन भैसकेको छैन । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ ।

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ । कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया