काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । उनले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नका लागि आज संसद्को बैठक बोलाएका छन् । ओली नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्ने सक्ने सम्भावना कम हुँदै गएको छ ।
ओली सरकारलाई समर्थन दिँदै आएको माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत नदिने बताइसकेको छ भने जनता समाजवादी पार्टीको एउटा समूहले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
नेकपा एमालेकै माधव नेपाल र झलनाथ खनाल पक्षधर २० सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका छन् । ओली र नेपालबीचको विवाद मिलाउन गरेको प्रयास असफल भएको स्रोतको भनाइ छ ।
सत्ताधारी नेकपा एमालेको संसद्मा बहुमत नरहेका कारण प्रधानमन्त्री ओलीलाई बहुमतका लागि अर्को कुनै ठूलो दलको सहायता आवश्यक छ । तर, उनलाई समर्थन गर्ने सम्भावना कम भएका कारण विश्वासको मत प्राप्त गर्न कठिन भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
प्रतिक्रिया