काठमाडौं - चार वटा आन्तरिक विमानस्थलले निशेषाज्ञाको अवधिमा पनि उडान अनुमति पाएका छन् ।
हवाई सेवाको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थलले उडान अनुमति दिने निर्णय गरेको हो ।
प्राधिकरणको यो निर्णयसँगै उडान अनुमतिका लागि अनुमति प्राप्त गरेका वायुयानले पोखरा विमानस्थल, नेपालगन्ज विमानस्थल, लुक्ला र सुर्खेत विमानस्थलबाट उडान अनुमति प्राप्त गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भने आन्तरिकमा वैशाख २० गते सोमबार राति १२ बजेदेखि र अन्तर्राष्ट्रियतर्फ भारत बाहेकका देशबाट हुने उडानमा बिहीबार राति १२ बजेदेखि व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको छ । भारतसँग भने सातामा २ वटा हवाई उडान भर्ने गरी नेपाल–भारतबीच भएको एयर बबल मोडेलमा उडान हुनेछ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचीकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी हप्ताको दुईवटा उडान गर्न पाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार जारी गरेको निर्णयमा भनिएको छ ।
प्रतिक्रिया