काठमाडौं - अघिल्लो दिनको तुलनामा देशमा शनिबार कोरोना संक्रमण वृद्धि दर केही घटेको छ । शुक्रबार सार्वजनिक गरिएको कोरोना सङ्क्रमण विवरणमा नौ हजार १९६ रहेकोमा शनिबार आठ हजार ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
वैशाख १६ गतेदेखि राजधानी उपत्यकालगायत कतिपय जिल्लामा कोरोना नियन्त्रणकै लागि निषेधाज्ञा लगाउन थालेपछि पहिलो पटक शनिबार संक्रमण वृद्धि दरमा केही कमी आएको हो ।
वैशाख १५ गते चार हजार ८९७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि १० दिनपछि गएको शुक्रबार सङ्क्रमितको सङ्ख्या दोब्बरको हाराहारीमा पुगेको थियो । शुक्रबारको तुलनामा शनिबार केही कमी भएको पाइएपछि निषेधाज्ञाले कोरोना सङ्क्रमणलाई केहि हतमा नियन्त्रणमा आउन सकेको अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा थप आठ हजार २८७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जना सङ्क्रमित पाइएका छन् । अघिल्लो दिनभन्दा कोरोनाका कारण मृत्यु भने बढी देखिएको छ ।
शनिबार थप ५३ जना सङ्क्रमितको निधन भएको छ । शुक्रबार ५० जनाको निधन भएको थियो । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६३२ पुगेको छ । मन्त्रालयका अनुसार थप तीन हजार ३७० जना निको भएका छन् । हाल निको हुने दर ७७ दशमलव ४ प्रतिशत रहेको छ ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८३ हजार ४९३ पुगेको छ भने क्वारेन्टाइनमा ३९८ जना रहेका छन् ।
प्रतिक्रिया