काठमाडौं - कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले भारतमा प्रतेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । यो सँगै सीमानाका हुँदै भारतबाट नेपाल आउँनेको चाप बढिरहेको छ ।
वैशाख महिनामा मात्रै एक लाख ७० हजार भन्दा बढि नेपाली सीमानाका हुँदै भारतबाट फर्किएका छन् । सशस्त्र प्रहरी बलले राखेको विवरणअनुसार १ देखि २५ वैशाखसम्म एक लाख ७० हजारभन्दा धेरै विभिन्न नाकाबाट नेपाल आएका हुन् ।
त्यस्तै, चैतमा एक लाख दुई हजार जना भारतबाट नेपाल आएका थिए । पछिल्लो समय पनि दैनिक तीन–चारजनाको संख्यामा विभिन्न नाकाबाट नेपाली आउने गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
संक्रमण बढेपछि गत सोमबार सरकारले भारतसँगका २२ नाका बन्द गरी १३ वटा मात्र सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गरिएको छ ।
प्रतिक्रिया