काठमाडौं - नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन् । अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन् ।
बुधबार पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए । बिहिबार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरू लीलानाथ श्रेष्ठ र पार्वत गुरुङलगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए ।
बुधबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद निरूपण गरेर अघि बढ्न ओलीलाई सुझाव दिएका थिए । दुई समूहबीच संवाद सुरु भएको र यसलाई सकारात्मक रूपमा लिएको नेपाल पक्षका नेताले बताएका छन् ।
त्यस्तै ओली पक्षधर नेता पनि छलफल सकारात्मक दिशामा उन्मुख गराउनुपर्छ भन्दै लागेका छन् । पाण्डे र बिष्टसँगको कुराकानीमा पौडेलले पार्टी एकता कायम राख्न प्रस्ताव गरेको बताइएको छ । पाण्डे र बिष्टले भने फागुन २८ को निर्णय सच्याए विवाद सुल्झन समय नलाग्ने बताएका थिए ।
कुराकानीपछि पौडेल मन्त्रिपरिषद्को बैठकमा भाग लिन बालुवाटार गएका थिए । मन्त्रिपरिषद् बैठक सकिएपछि ओलीसँग पौडेलले छुट्टै कुराकानी गरेका थिए । साथै अन्य मन्त्रीले विवाद मिलाएर जान सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई विवाद निरूपण गर्ने आश्वासन दिएको भए पनि उपायबारे भने बताएका छैनन् ।
पौडेल, पाण्डे र बिष्टबीच छलफल हुनुअघि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेतालाई गरिएको कारबाही फुकुवा गर्ने विषयमा छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीले नेपाल पक्षलाई गरिएको कारबाही फुकुवा गर्ने संकेत गरेका थिए ।
प्रतिक्रिया