३० हजार पर्ने रेम्डेसिभिर इन्जेक्सन १ लाख २० हजारमा  बिक्री, दुई जना रंगेहात पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - कोरोना महामारीको बेलामा कालोबजारीमा संलग्न दुईजना पक्राउ परेका छन् ।  उनीहरुलाई विहिबार प्रहरीले रंगेहात पक्राउ गरेको हो ।  

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको छुट्टाछुट्टै टोलीले गोरखा आरुघाट गाउँपालिका– ४ का २५ वर्षीय रफिक मियाँ र सिराहाको लहान नगरपालिका– २४ का ३४ वर्षीय भगवानबाबु राय राजपुतलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार मियाँले रेम्डेसिभिर इन्जेक्सन तथा राजपुतले स्यानिटाइजर र अक्सिमिटरको कालोबजारी गरिरहेका थिए । मियाँले ३० हजार रुपैयाँ पर्ने ६ थान रेम्डेसिभिर इन्जेक्सन एक लाख २० हजारमा बिक्री गर्ने तयारी गरेका थिए । 

यो इन्जेक्सन कोरोना संक्रमित बिरामीलाई लगाउने गरिन्छ । प्रहरीले मियाँबाट ६ थान रेम्डेसिभिर पनि बरामद गरेको छ । मियाँलाई प्रहरीले बसुन्धराबाट पक्राउ गरेको हो । 

उनले महाराजगन्जस्थित नीलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेम्डेसिभिर बिक्री गर्ने तयारी गरेको अनुसन्धानबाट खुलेको छ । ढकाल अहिले फरार रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार राजपुतले बजारमा सात सय रुपैयाँ पर्ने अक्सिमिटरलाई तीन हजारमा बिक्री गर्दै आएका थिए । क्षेत्रपाटीस्थित उनले सञ्चालन गरेको बिबिआर इन्टरप्राइजेजमा छापा मार्दा प्रहरीले आठवटा अक्सिमिटर बरामद गरेको छ । 

त्यस्तै, स्यानिटाइजरका एक सय २४ ग्यालेन पनि बरामद गरिएको छ । स्यानिटाइजरको बिक्री मूल्य भने खुलिनसकेको परिसरले जनाएको छ । 

महामारीको चलिरहेको बेला बजारमा स्यानिटाइजर, अक्सिमिटरदेखि संक्रमितलाई दिइने रेम्डेसिभिर इन्जेक्सनसम्मको कालोबजारी हुन थालेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया