कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञामा थप कडाई गरीएको छ । सरकारले आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू गरेको हो ।
स्थानीय प्रशासनमार्फत पूर्ण र आंशिक गरी ५६ जिल्लामा निषेधाज्ञा लागू भएको छ ।गृह मन्त्रालयका अनुसार ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।
बिहीबारदेखि बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको हो ।
सिन्धुपाल्चोकमा ठूला राजमार्गको दायाँ बायाँ पाँच–पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ भने चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११ बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले संक्रमित संख्याका आधारमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएको छ ।
उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ ।आजदेखि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो ।
यस्तै सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको उल्लंघन गर्ने, अनावश्यक हिँड्डुल गर्नेलाई कारबाही संगै जरिवाना तिराइने भएको छ । उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया