काठमाडौं - आज बिहीबार रातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने भएको छ । यो सँगै त्रिभुवन विमानस्थलमा बाहिरिने यात्रुको चाप बढेको छ ।
कोभिडको दोस्रो लहर सुरु भएसँगै वैशाख आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडान नगर्ने सरकारको निर्णयपछि त्रिभुवन विमानस्थल हुँदै बाहिरिनेको संख्या बढेको हो ।
सरकारले बिहीबारबाट भारतबाहेकका देशमा अन्तर्राष्ट्रिय उडान वैशाख अन्तिमसम्म स्थगन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतमा एयर बबलको सुविधाको आधारमा दुई देशका यात्रु आउजाउ गर्न सक्छन् । जसमा हप्तामा दुई उडान मात्र हुनेछन् ।
तर, भारतले भने कोरोना सङ्क्रमणको दरमा विश्वमा दिनकै नयाँ रेकर्ड बनाइ रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।
अध्यागमन विभागका अनुसार अप्रिल महिनामा मात्रै २२ हजार ४ सय ५० विदेशी नेपाल आएका थिए । हिमाल आरोहणमा आएका विदेशी पर्यटकबाहेक अरु फर्किन लागेका हुन् ।
कोभिड महामारी बढ्दो क्रममा रहेकाले वैशाख ३१ पछि पनि अन्तर्राष्ट्रिय उडान खुल्नेरनखुल्ने टुंगो नहुँदा अधिकांश पर्यटक फर्किन चाहेका हुन् ।
त्यसबाहेक वैदेशिक रोजगारीबाट विदामा फर्किएका नेपाली पनि खाडी मुलुकमा जाने धेरै रहेको एयरलाइन्स कम्पनीले जनाएका छन् ।
प्रतिक्रिया