पोखरामा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १३२ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनीहरुलाई पोखराका मुख्य–मुख्य चोकबाट नियन्त्रणमा लिइएको हो ।
गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा दिनप्रतिदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई सुरुको दिनमा सम्झाएर पठाउने गरिएको थियो । बुधबारदेखि भने मास्क नलगाउने, अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई प्रहरीले जहाँको त्यहीँ रोकेर राख्ने गरेको छ ।
अनावश्यक रूपमा हिँड्डुल गर्नेलाई जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर कारबाही पछि छाडेको हो । पोखरामा बुधबार बिना काम सडकमा हिँडडुल गर्ने १३२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । नियन्त्रणमा दिइएका मध्ये १८ जना महिला र ११४ जना पुरुष रहेको उनले बताए ।
निषेधाज्ञाको उल्लङ्घन गरी हिँड्डुल गर्नेलाई पहिलो चरणमा एकघण्टा होल्ड गरेर सम्झाई बुझाइ गरेर छाडिएको प्रवक्ता डिएसपी हमालले बताए । अर्को दिनपनि अटेर गरी विना काम हिँडडुल गरेको भेटिएमा कडा कारबाही गर्ने उनले बताए ।
बिरामी भएर निस्किएका, औषधि खरिद तथा अन्य अत्यावश्यक काम विशेषले हिँडेकालाई भने प्रहरीले रोक नलगाएको उनले बताए । बुधबार ६८ वटा चारपाङ्ग्रे र १०० वटा दुई पाङग्रेसहित १६८ वटा सवारीका साधनलाई समेत नियन्त्रणमा लिएको डिएसपी हमालले बताए ।
प्रतिक्रिया