काठमाडौं - कोरोेनाको संक्रमण दर पहिलो लहरको उच्च बिन्दु भन्दा बढी देखिएपछि कोरोेना नियन्त्रण गर्न बनेको उच्चस्तरीय समन्वय समिति (सिसिएमसी)ले आन्तरिक र अन्तर्राष्ट्रियतर्फका उडान बन्द गर्न सिफारिस गरेको छ ।
केही दिन अगाडि सरकारले नेपाल भएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको थियो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने कुनै निर्णय नलिए पनि नेपालसँग हवाई सेवा हुने देशले भने धमाधम बन्द गर्न थालेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा कोरोना बढेको भन्दै नेपालसँग हवाई सेवा भएका देशहरूले आफैँ उडान बन्द गर्न थालेको जनाएको छ ।
हङकङ र जापानले नेपालसँगको उडान बन्द गरिसकेका छन् । साउदी अरब पनि नेपालमा उडान बन्द गर्ने प्रक्रियामा छ । हाल नेपालबाट मलेसिया, कतार, दुबई, भारत, टर्कीलगायत देशमा मात्रै उडान भइरहेको छ । भारतमा उडान गर्न संसारभरबाट रोक लगाइँदा नेपाल र भारतबाट दुइतर्फी एक–एक हवाई सेवा सुचारु नै छ ।
भारतीयहरू नेपाल हुँदै सउदीतर्फ उडान गरिरहेका थिए । त्यसमा नेपालले गत सातादेखि नै कडाइ गरेको छ । हाल आन्तरिकतर्फ दैनिक ७० र अन्तर्राष्ट्रियतर्फ २० वटा मात्रै उडानरअवतरण भइरहेका छन् । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ९० र आन्तरिकतर्फ तीन सयभन्दा बढी उडानरअवतरण हुने गरेको छ ।
प्रतिक्रिया