अनिद्रा कति भयावह ? यी हुन् बच्ने उपाय

७ बर्ष अगाडि

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न निद्रा अपरिहार्य छ । सामान्यतया मानिसले दैनिक सातदेखि आठ घन्टा निदाउन जरुरी हुन्छ । निद्रा खानाजत्तिकै महत्वपूर्ण हुन्छ । जसले हाम्रो शरीर र मस्तिष्कलाई आराम प्रदान गर्दछ ।

तर, राम्ररी निद्रा पर्दै नपर्नु, बीचबीचमा अनावश्यक निद्रा खुल्नु आदि अनिद्राका लक्षण हुन् । अनिद्रा भयानक समस्या हो । जसले दिनचर्या प्रभावित पार्नुका साथै अनेकौँ रोगको कारणसमेत बन्न सक्छ ।
अहिले अनिद्रा प्रमुख स्वास्थ्य समस्याका रूपमा विश्वभर देखा परेको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार हाल विश्वमा १० प्रतिशत जनसंख्या अनिद्रापीडित छन् । अनिद्राका कारण मधुमेह, उच्च रक्तचाप, तौल बढ्ने, टाउको दुख्ने, तनाव हुनेजस्ता विभिन्न समस्या देखा पर्छन् । यस्तै, अनिद्राका कारण अधिकांश मानिस मानसिक रोगको सिकारसमेत हुने गरेको पाइन्छ ।  अनिद्राबाट छुटकारा पाउन धेरै औषधि बनेका छन् । तर, यस्ता औषधिले अन्य समस्यासमेत निम्त्याउने सम्भावना रहन्छ । अनिद्राबाट जोगिन घरमै केही प्राकृतिक उपाय अपनाउन सकिन्छ ।

बच्ने उपाय
सुत्नुअघि तातो पानीले नुहाउने
सन् १९९८ मा गरिएको एक अध्ययनअनुसार सुत्नुभन्दा अगाडि तातो पानीले नुहाउँदा निद्रा छिटो पर्नुका साथै गहिरो सुत्ने बानीको विकास हुन्छ । तातो पानीका कारण शरीरमा ताप बढ्ने हुन्छ । बाहिर निस्केपछि एक्कासि चिसो वातावरणमा आउँछ । यसले मस्तिष्कका साथै शरीरका अंगहरू शिथिल हुन्छन् र निद्रा पर्दछ ।
नियमित व्यायाम गर्नुहोस्
व्यायाम गर्दा शरीरमा एक प्रकारको हर्मोन उत्पन्न हुन्छ । जसले छिटो निद्रा पर्दछ । यस्तै, नियमित काम गरिराख्ने मानिसमा अंग र दिमाग थाकिसकेको हुन्छ । फलस्वरूप चाँडो निद्रा पर्दछ ।

योग र ध्यान
पर्याप्त रूपमा निदाउन नसक्नुको अर्को मुख्य कारण तनाव हो । तनावले गर्दा निन्द्रा नपर्ने हुन्छ । यो बिस्तारै बानीको रूपमा विकास हुन्छ र समस्या बन्दै गएको पाइन्छ । योग र ध्यान गर्दा मानिसलाई तनाव कम हुन्छ । यसले मानसिक समस्याबाट राहत अनुभव हुन्छ । दिनहुँजसो योग र ध्यान गर्न सके अनिद्रा सुधार गर्न सकिन्छ ।

स्वस्थ आहार गर्नुहोस्
अधिकांश रोगको कारण हामीले खाने खाना बनिरहेको छ । सुत्नुभन्दा अगाडि सकेसम्म थोरै र हलुका खानेकुरा खानुहोस् । बेलुका धेरै खानेकुरा खानाले कतिपय अंग बढी नै सक्रिय रहनुपर्ने हुन्छ । जसले गर्दा शरीरका अंगहरूले पर्याप्त मात्रामा आराम गर्न पाउँदैनन् । यसर्थ, सुत्नुभन्दा करिब दुई घन्टाअघि खाना खानुपर्दछ ।

सुत्ने कोठा शान्त राख्नुहोस्
राति अबेरसम्म निद्रा नपर्नुको अर्को कारण बेडरुमको वातावरण पनि हो । बेडरुमलाई सकेसम्म निद्रामैत्री अर्थात् शान्त राख्न जरुरी छ । जहिले पनि आफू सुत्ने कोठा शान्त र आनन्द लाग्ने हुनुपर्दछ । कोठामा बाहिरी प्रकाशको व्यवस्था हुन आवश्यक हुन्छ । साथै, प्रयोगमा ल्याइने कपडा आरामदायी हुन जरुरी हुन्छ ।

बेलुका चिया, कफीजस्ता  पेयपदार्थबाट टाढा रहने
बेलुका सुत्नुभन्दा अगाडि चिया, कफी, डार्क चकलेटजस्ता पदार्थको सेवन गर्नुहुँदैन । यस्ता चिज खाँदा निद्रामा असर पुगिरहेको हुन्छ । कफीमा पाइने एक प्रकारको क्याफेइनले केन्द्रीय स्नायु प्रणालीलाई करिब पाँच घन्टासम्म सक्रिय राख्ने गर्दछ । जसले गर्दा सजिलै निदाउन सकिँदैन । तसर्थ, चिया, कफी, कोल्डड्रिंक्स, चकलेटजस्ता वस्तुबाट टाढै रहनु लाभदायी हुन्छ । नयाँ पत्रिका दैनिकबाट

७ बर्ष अगाडि

प्रतिक्रिया