नमुना दलित बस्ती निर्माणको काम सुरु

५ बर्ष अगाडि

काठमाडौं– सुनकोशी गाउँपालिका, च्यानममा दलित नमूना बस्ती विकासको काम शुरु भएको छ । दुई वर्षअघिको वर्षामा पहिराबाट प्रभावित स्थानीय १९ घर दलित परिवारलाई सुरक्षित स्थानमा  स्थानान्तरण गर्न दलित नमूना बस्ती विकासको काम थालिएको हो ।


सुनकोशी गाउँपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनका आधार संरचना निर्माणको काम थालिएको छ । च्यानममा दलित बस्ती विकासका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सङ्घीय सांसद यज्ञराज सुनुवारले रु दश लाख बजेट उपलब्ध गराएका छन् । सो बजेटबाट पूर्वाधार निर्माणको काम थालिएको हो  ।

गाउँको एउटा सिङ्गो बस्ती नै विस्थापन भएपछि स्थानीय युवक सन्तोषकुमार बस्नेतले दलित बस्तीलाई गाउँमै पुनःस्थापना गर्न पाँच  रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । आफ्नो अंश काटेर दलित बस्ती विकासका लागि दिनुभएका जग्गादाता बस्नेतकै पहलमा सांसद सुनुवारले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम उपलब्ध गराएका हुन् । ‘पहिरोले बस्ती जोखिममा पारेर बिचल्ली परेको समुदायलाई गाउँमै स्थापित गराउन, एक वर्षअघि जग्गा पास गरेर दिएँ । माननीयसँग अनुरोध गरेर बजेट विनियोजन गर्न लगाएँ । अहिले संरचना निर्माणको काम शुरु भएको छ ।’ जग्गादाता बस्नेतले भने, ‘गाउँपालिकाले डिपिआर बनाएर योजना सहजीकरण गरिदियो । यसलाई महत्वपूर्ण योजनाका रुपमा अघि बढाएर जिल्लाकै नमूना एकीकृत दलित बस्ती बनाउने लक्ष्य छ । सबैको साथ र सहयोग पाइने अपेक्षा गरेका छौंँ ।’ स्थानीयवासी छत्रबहादुर बस्नेतका नेतृत्वमा गठित समितिले बस्ती विकासको काम गरिरहेको छ । 

सुनकोशी  –८ को दलित बस्तीमा पहिरो गएपछि स्थानीयवासी बिचल्ली अवस्थामा छन् । कमजोर आर्थिक अवस्थाका कारण बाहिर सुरक्षित स्थानमा घर बनाएर बस्ने अवस्था नहुँदा समस्या भएको दलित अगुवा निर्मला परियारले बताइन् । दाताका सहयोगमा जग्गा उपलब्ध भएपछि लामो समयसम्म त्यहाँ संरचना नबन्दा पहिराको जोखिमयुक्त क्षेत्रमै बसोबास गर्न स्थानीयवासी बाध्य छन् । 
 गाउँपालिकाले च्यानमको दलित बस्ती विकासका लागि योजनाबद्ध काम गरिरहेको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए। डिपिआर तयार भइसकेकाले बजेट तर्जुमा गरेर बस्ती विकासका काम अघि बढाइने अध्यक्ष अधिकारीको भनाइ छ । गाउँपालिकाले तयार गरेको डिपिआरअनुसार प्रदेश र सङ्घ सरकारमा बजेट माग गरिएको जनाइएको छ । 

ओखलढुङ्गामा पहिराबाट दर्जनौंँ बस्ती विस्थापन भए पनि मोलुङ गाउँपालिकाको प्राप्चालगायत केही ठाउँबाहेक अन्य स्थानमा बस्ती स्थानान्तरणको काम भइसकेको छैन ।  

५ बर्ष अगाडि

प्रतिक्रिया