काठमाडौं - सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको छ । हवाई उडान बन्द नभएपछि उपत्यका आवत–जावत गर्नेहरुको भीड विमानस्थलमा बढेको सीसीएमसीका अधिकारीहरु बताउँछन् ।
अहिलेको अवस्थामा सीसीएमसीको सचिवालयले चाहेर मात्रै हवाइ उडान रोकिँदैन । यसमा मन्त्रिपरिषदले नै चासो राख्नुपर्ने हुन्छ । सचिवालयका अधिकारीहरु आन्तरिक हवाई उडान तत्काल बन्द गर्न सीसीएमसी निर्देशक समितिमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्ने तयारी भइरहेको बताउँछन् ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आज विहीबार अन्तर्राष्ट्रियतर्फ २० उडान र २० अवतरण हुने सेड्युल छ । आन्तरिकतर्फ भने बुधबारको भन्दा केही उडान घटेको छ । बुधबार १४७ उडान र १४७ अवतरण थियो भएको थियो । आज निषेधाज्ञा लागेको दिनमा पनि १०५ वटा आन्तरिक उडानको सेड्युल छ । यो संख्या शुक्रबार पनि नघट्ने बताइएको छ ।
सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरे पनि आन्तरिक र बाह्य दुबै उडान बन्द गरेको छैन । खासगरी दिल्लीबाट विमान चढेर आउने यात्रुहरूबाट संक्रमणको जोखिम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले भने बेलायत र अन्य मुलुकबाट आउनेहरुका लागि अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भनेता पनि भारतबाट आउनेहरुको हकमा खुकुलो नीति लिँदै आएको छ ।
सोमबार मन्त्रिपरिषदको बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिकुल स्थिति देखिएमा जुनसुकै बेला हवाइ उडान बन्द गर्न सकिने बताएका थिए । देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत–जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको मन्त्री ज्ञवालीले बताएका थिए ।
हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी प्रोटोकल कडाइ पूर्वक पालना गरे÷नगरेको निगरानी सम्बन्धित निकायले गर्नेछ र प्रतिकूल अवस्था आए जुनसुकै बेला हवाइ उडानबारे थप निर्णय गर्न सकिने मन्त्री ज्ञवालीले बताएका थिए ।
काठमाडौं उपत्यकासहित देशमा मुख्य सहरमा निषेधाज्ञा लागू भए पनि यतिखेर उपत्यका छाड्ने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ । बैशाख १६ गतेदेखि सार्वजनिक यातायातका साधन र बजारसमेत बन्द गर्ने सरकारले निर्णय गरेसँगै उपत्यकाबासीहरु भटाभट गाउँ फर्कन थालेका छन्, जसको चाप विमानस्थलमा समेत परेको छ ।
उपत्यका ट्राफिक व्यवस्थापन शाखाका अनुसार मंगलबार र बुधबार दुई दिनमा मात्र झण्डै ६ लाख सर्वसाधारणले सहर छाडेका छन् । निषेधाज्ञाको अघिल्लो दिन बुधबार बेलुकासम्म यस्तो संख्या झण्डै १० लाखको हारहारीमा पुग्न सक्ने महाशाखाको विश्लेषण छ ।
स्थलमार्ग, सार्वजनिक यातायातमा मात्र होइन, पछिल्लो दुई दिनयता निषेधाज्ञाको त्रासले हवाई सेवामा समेत ह्वात्तै यात्रुको चाप बढेको त्रिभुवन विमानस्थल (टीआईए) ले जनाएको छ । मंगलबार एकै दिन अधिकतम १२८ फ्लाइटबाट १४ हजार यात्रुहरुले उपत्यका छाडेको टीआईएका प्रवक्ता चन्द्रलाल कर्णले रातोपाटीलाई जानकारी दिए । यो संख्या बुधबार बढेको छ ।
यतिखेर अन्तर्राष्ट्रिय उडानतर्फ भने ३०/३० को अवस्था छ । कोभिड–१९ को दोस्रो लहर अन्तर्राष्ट्रिय उडान तर्फ के गर्ने भन्ने अहिलेसम्म सरकारी निर्णय नभइसकेको अवस्थामा त्रिभुवन विमानस्थलबाट दैनिक ३० वटा फ्लाइट टेकअफ (उड्ने) र ३० वटा ल्यान्डिङ ९आगमन० भइरहेको बताइएको छ ।
कोभिड–१९ को दोस्रो लहरसँगै मुलुकमा निषेधाज्ञा गर्ने सरकारी निर्णयपछि विदेशमा रहेका नेपाली आफन्त, घरपरिवार भेट्न नेपाल आउजाउ बढेको छ । वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरु पनि फ्लाइट बन्द हुने त्रासले छिटो–छिटो विदेश जान चाहेको बताइएको छ ।
यसले गर्ला तुलनात्मक रुपमा अन्तर्राष्ट्रिय उडानमा समेत यात्रुहरूको चाप बढेको बताइएको छ ।
प्रतिक्रिया