आजबाट निषेधाज्ञा जारी, थपिने बारे के भन्छ प्रशासन ?

५ बर्ष अगाडि

काठमाडौं - दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोक्न भन्दै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाले जारी गरेको निषेधाज्ञा आज बिहानबाट लागू भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार बुधवारसम्म नेपालमा १२ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप १० जिल्ला दुई सयभन्दा बढी सङ्क्रमित छन् ।

पछिल्लो पटक काठमाडौं, ललितपुर, भक्तपुर र पर्सा जिल्ला प्रशासन कार्यालयहरूले वैशाख १६ गते बिहानबाट वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने गरी निषेधाज्ञा जारी गरेका हुन् ।

नेपाल प्रहरीका अनुसार हाल १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । सङ्क्रमणको दर निषेधाज्ञाको कत्तिको प्रभावकारी कार्यान्वयन हुन्छ भन्ने कुरामा निर्भर गर्ने जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञहरूले बताएका छन् ।

स्थानीय प्रशासनहरूले शुरुमा एक साताका लागि निषेधाज्ञा जारी गरिए पनि फेरि थपिने स्पष्ट सङ्केत दिएका छन् । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललिलकुमार बस्नेतले एकैचोटि १५ दिनका लागि निषेधाज्ञा जारी गर्दा नागरिक प्यानिक हुने अवस्था आउनसक्ने भएकोले शुरुमा सात दिनका लागि गरिएको जनाएको छ ।

सङ्घीय सरकारले पनि वैशाख मसान्तसम्म निषेधाज्ञाको कुरा गरेकोले थपिने कुरामा दोधार रहेको जनाएको छ । प्रतिबन्धात्मक कदमबारे सङ्घीय सरकारका निर्णयहरू आउनुअघि नै काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा दिइसकेका थिए ।

पहिले नै आदेश जारी गरिसकेको र अवस्था हेरी निषेधाज्ञा थप गर्न सकिने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । 

साथै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि निषेधाज्ञा थपिने सम्भावनालाई नकार्न नसकिने बताएका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया