निषेधाज्ञामा पनि सेयर बजार खुल्ने, सबै कारोबार अनलाइनबाट

५ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि आजबाट निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको अवधिमा पनि सेयर बजार चालु रहने भएको छ । 

तर, सबै कारोबार विद्युतीय माध्यमबाट (अनलाइन) मात्र हुने स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले जनाएको छ । 

आजबाट अत्यावश्यक सेवा बाहेकका सवारीसाधन, व्यापार व्यवसाय, शैक्षिक संस्थालगायत बन्द हुने छन् । यही अवस्थालाई मध्यनजर गर्दै सेयर कारोबार विद्युतीय माध्यमबाट मात्र गर्ने निर्णय भएको एसोसिएसनले जानकारी दिएको छ ।

सोसिएसन एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘निषेधाज्ञाको पनि नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा अन्य निर्देशनहरूको पालना गर्दै विद्युतीय माध्यमको उच्चतम प्रयोगमार्फत् धितोपत्र दोस्रो बजार कारोबार तथा राफसाफ निरन्तर गर्न र गराउन हामी धितोपत्र दलाल व्यवसायीहरू पूर्णरूपमा तयार रहेका छौं । 

साथै यसका लागि सम्बन्धित निकायहरूबाट कर्मचारीहरूको आवागमनलगायतका अन्य आवश्यकताहरूमा निरन्तर सहयोग हुने विश्वास पनि लिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले एक साताका लागि जारी गरेको निषेधाज्ञा आजबाट सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले भने कोरोना भाइरस सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया