एजेन्सी - छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण मृत्यु हुने मानिसहरको दाहसंस्कारका लागि ठाउँको अभाव हुन थालेको छ । शवको चाप बढेपछि पछिल्ला दिनमा अस्थायी शवदाह गृह बनाउन थालिएको छ ।
महामारीको दोस्रो लहर बढेसँगै मृतकको संख्या पनि लगातार बढ्दै गएको छ । सोमबार दिल्लीमा मात्र ३६० जनाको मृत्यु भएको छ । मेडिकल अक्सिजन, इन्टेसिभ केयर युनिट बेड र जीवन रक्षक औषधिको आपूर्तिले धान्न सकिरहेको छैन । केही दिन यता भारतमा सङ्क्रमणको १० लाखभन्दा बढी मामिला प्रकाशमा आएको छ ।
भारतमा एक करोड ७० लाख जना अहिलेसम्म कोरोनाबाट संक्रमित भइसकेका छन् । यो महामारीले भारतमा एक लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ ।
संक्रमित र मृतकको वास्तविक तथ्यांक सरकारले जारी गरेको तथ्याङ्कको तुलनामा निकै बढी हुन सक्ने कयौँको भनाइ छ । एनडिटिभी न्यूज च्यानलको एउटा रिपोर्टअनुसार गत साता कम्तीमा पनि एक हजार एक सय ५० जनाको मृत्यु दिल्ली सरकारको रेकर्डमा सामेल भएको छैन ।
अन्य सहरमा पनि यस्ता खोजी रिपोर्ट प्रकाशमा आएका छन्, जहाँ सरकारी तथ्याङ्कभन्दा कयौं बढी संक्रमित र मृतक रहेको दावी गरिएको छ । अन्त्येष्टि गर्ने ठाउँका कर्मचारीहरू रातदिन काम गरिरहेका छन् । उनीहरु शोक सन्तप्त परिवारहरूलाई मद्दत गरिरहेका हुन्छन् भने दाहसंस्कारका लागि दाउरा जुटाउने, चिता बनाइदिने तथा अन्य रिवाज निर्वाह गरिरहेका हुन्छन् ।
दिल्लीमा पार्किङ्ग, पार्क र खाली मैदानलाई पनि अन्त्येष्टि स्थलका रुपमा प्रयोग गर्न माग भइरहेको छ । धेरै परिवारले आफ्नो परिवारका सदस्यको अन्तिम संस्कारका लागि घण्टौं सम्म प्रतीक्षा गर्नु परिरहेको छ ।
प्रतिक्रिया