काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा कम्पनीले प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । निष्काशन गरिने कुल कित्तामध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ ।
त्यस्तै बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो ।
जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । बाँकी ९० लाख कित्ता भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
पहिलो चरणको उक्त आईपीओमा लगानीकर्ताहरुले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
प्रतिक्रिया