ओली–नेपालको भेटवार्ताले पार्टी कार्यकर्तामा आशा पलायो

४ बर्ष अगाडि

काठमाडौं - एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । 

पुस ५ गतेपछि दुई नेताबीच पानी बाराबारको अवस्थामा एकल संवाद हुन सकेको थिएन । सर्वोच्च अदालतले फागुनमा एमाले र माओवादी ब्युँताइदिएपछि पार्टी कार्यालय धुम्बाराहीमा सामूहिक भेटघाट भएको थियो । 

त्यहाँ कुरा नमिलेपछि नेपाल समूहले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको हो ।

एक घण्टा ४५ मिनेट वार्ता गरेपछि होटल मेरियटबाट बाहिरिएका ओली र नेपाल प्रफुल्ल मुद्रामा देखिएका थिए । वार्तामा केके विषयमा कुरा भयो भन्नेबारे दुवै पक्षले बाहिर ल्याएका छैनन् । 

वार्तामा ओलीले नेपाललाई निसर्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आपत्ति नहुने बताएको स्रोतको दाबी छ ।

साथै उक्त भेटवार्ता 'कालो बादलमा चाँदीको घेरा भेटिएझै' भएको पूर्वमन्त्री गोकर्ण विष्टले टिप्पणी गरेका छन् । सो भेटबाट पार्टी कार्यकर्तामा आशा पलाएको पनि विष्टको भनाइ छ ।

उने सामाजिक संजाल फेसबुक मार्फत ​जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्‍नले समस्याको समाधान सम्भव रहेको बताउँदै विष्टले अनुसार पार्टीको एकतालाई जोगाउन संकल्प गर्न अपिल समेत गरेका छन् ।

यसअघि बालुवाटारमा समूहसहित भेटघाट गरेका नेपालले बुधबार भने एक्लै संवाद गरेका थिए । लामो समयदेखि ओलीसँग टाढा रहेका नेपाललाई ओलीले नै फोन गरेर भेटौँ भनेका थिए । नेपालले बालुवाटार नआउने बताएपछि होटलमा भेटघाटको व्यवस्था गरिएको थियो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया