सिंगटी हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत हुँदै, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - सिंगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ यसै साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार कम्पनीले यसै साताभित्र शेयर सूचिकरण गर्ने तयारी गरिरहेको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

सेबोनमा प्रकाशन भएको विवरण पत्र अनुसार सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १०० रूपैयाँ रहेको छ । सोही नेटवर्थको ३ गुणा ३०० रुपैयाँ हुन्छ ।

कम्पनीले चैत ६ गते देखि १० गतेसम्म कुल २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँड गरी २६ लाख ९७ हजार कित्ता शेयर चैत २७ गते सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।

बाँडफाँडमा गोलाप्रथाबाट २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए । रितपूर्वक आवेदन दिने योग्य आवेदकमध्ये नै १२ लाख ९० हजार १०२ जनाको हात खाली भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया