विराटनगर – मोरङको पूर्वी भेगको इटा उद्योगमा गाँजाको कारोबार हुने गरेको पाइएको छ । अधिकांश उद्योगमा भारतबाट आएका कामदारहरूले बाहिरबाट खरिद गरी भित्र अवैध गाँजाको कारोबार हुने गरेको फेला परेको हो ।
मोरङको रङ्गेली–३ स्थित दिलिप बगडियाले सञ्चालन गरेको आन्नद इट्टा उद्योग परिसरभित्र गाँजाको कारोबार गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । आनन्द इटा उद्योगको इटा भट्टामा लेबर काम गर्ने भारत बङ्गाल कुसबिहार बस्ने ३० वर्षीय हेमन्त बर्मनले उद्योग परिसरभित्र गाँजाको कारोबारसमेत गर्ने गरेको बुझिएको हो ।
उद्योग परिसरभित्र क्यान्टिनसमेत चलाउने गरेका उनले बाहिरबाट गोप्य रूपमा गाँजा माग गर्ने र भित्र काम गर्ने कामदारलाई बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । गाँजाको कारोबार गर्न माहिर रहेका हेमन्तले उद्योग भित्र रहेको क्यानटिनमा गाँजा भरेर एक चिलिमको भारु ५० रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलको छ ।
करिब एक हजारको सङ्ख्यामा मजदुर रहेको उक्त उद्योगका धेरै पुरुष कामदारहरूलाई गाँजा भरेर पैसा लिँदै चिलिमको हिसाबले बिक्री गर्थे । इटा उद्योगभित्र गाँजाको कारोबार गर्ने गरेको इलाका प्रहरी कार्यालय रङ्गेलीलाई गोप्य सूचना आएपछि छापा मार्दा प्रहरीले बिक्री गर्ने रातो झोलामा प्याक गरी लुकाई राखेको लागूऔषध गाँजा साढे दुई केजीसहित कारोबारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए ।
प्रतिक्रिया