झण्डै १ करोडको लागतमा भेटेरिनरी अस्पताल निर्माण

४ बर्ष अगाडि

तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरिनरी अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर र इनोभेसन आयोजनाको लगानीमा निर्माण शुरु भएको अस्पतालको भवन निर्माण सम्पन्न भएको हो । 

बन्दीपुर गाउँपालिका–१ नाहालामा गत भदौदेखि अस्पताल भवन निर्माण शुरु भएको थियो । रु ९८ लाख ६१ हजार ४४९ को लागतमा भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए। भवन निर्माणको ठेक्का व्यास नगरपालिका–२ स्थित सिएम निर्माण सेवाले पाएको थियो । 

उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरेनरी अस्पताल अति आवश्यकता थियो । “पशुको उपचार गराउनुप¥यो भने सदरमुकाम दमौली लैजानुपर्ने बाध्यता छ, यही अस्पताल निर्माण भएपछि कृषकले सहजरूपमा आफ्नै ठाउँमा सेवा पाउनेछन्”, पोख्रेलले भने ।

उक्त अस्पतालमा पशु चिकित्सकको दरबन्दीमा कर्मचारी खटिनेछन् । अस्पताललाई बन्दीपुर गाउँपालिका मातहत राख्न तयारी थालिएको छ । गाउँपालिकाको पशु शाखा नै यही भवनमा स्थानान्तरण गर्न लागिएको पोख्रेलले बताए। “भवनको सम्पूर्ण काम सकिएको छ, ठेकेदारबाट हस्तान्तरण भएलगत्तै बाँकी काम थाल्छौँ”, उनले भने । 

भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान गरेका थिए । गाउँपालिकाको पशुपक्षी शाखाको नाममा करिब रु ७५ लाख मूल्य बराबरको जग्गादान गरेका थिए । वडाध्यक्ष पोख्रेलका अनुसार धेरै पहिलादेखि नै भेटेरेनरी अस्पताल निर्माणका लागि पहल भए पनि जग्गा नहुँदा काम अगाडि बढ्न सकेको थिएन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया