काठमाडौं- अजोड इन्स्योरेन्सको सेयर कारोबार सम्बन्धमा छानबिन गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।
यस विषयमा छानबिन गरी वास्तविकता पत्ता लगाउन धितोपत्र बोर्डले उप समिति गठन गरेको छ । बोर्डकै निर्देशकको संयोजकत्वमा सोमबार यस्तो उप समिति गठन गरिएको हो ।
अजोडले हकप्रद ल्याउने सूचना सार्वजनिक गर्नुअघि सर्किट ब्रेकर लाग्ने गरी भाउ बढेको र पर्याप्त मात्रामा सेयर कारोबार भएको थियो । त्यस सम्बन्धमा बोर्डमा उजुरी समेत परेको थियो । सोही आधारमा छानबिन गर्न लागिएको धितोपत्र बोर्डको भनाई छ । यसबारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा समेत व्यापक चर्चा भएको थियो ।
यसैबीच अजोड इन्स्योरेन्सले घोषणा गरेको ५० प्रतिशत हकप्रद सेयर निष्कासनमा समस्या पर्ने देखिएको छ । कम्पनीले नियामक निकायलाई जानकारी नै नदिएर हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै बिमा समितिले सोमबार कम्पनीलाई पत्र काटेको छ ।
सोमबार यो कम्पनीको धेरै सेयर कुमारी बैंक र कुमारी क्यापिटलले खरिद गरेको देखिन्छ । यस्तो कारोबारलाई भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ । कानुनले यस्तो कारोबारलाई वञ्चित गरेको छ । तर, नियामक निकाय धितोपत्र बोर्ड र फन्ट लाइन रेगुलेटर नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार मौलाएको हो ।
यस्तो प्रवृत्ति नयाँ भने होइन । तर, विगतको तुलनामा अहिले ह्वात्तै बढेको छ । बढेको बजारमा चलखेल गर्ने उद्देश्यले यस्तो प्रवृत्ति अकासिएको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया