माटो र काठपछि कङ्क्रिटका मूर्ति

७ बर्ष अगाडि


 

घोराही – कल्लु नेपालीका दाङलगायत आसपासका रुकुम, रोल्पा, प्यूठान र सल्यानका अधिकांश मन्दिरमा बनाएका मूर्ति छन् । उहाँ आफँै पनि शिवका भक्त हुनुहुन्छ । सोही कारण उहाँले शिवका थरिथरिका मूर्ति बनाउँदै आउनुभएको छ । 

दाङ, घोराही उपमहानगरपालिका–१४ बसपार्क निवासी कल्लु नेपाली हिन्दू धर्मसँग सम्बन्धित सबै प्रकारका भगवान्का मूर्ति बनाउन सिपालु हुनुहुन्छ । उहाँले दुर्गा, काली, सरस्वती, वनदेवी, विष्णु, गणेश र बुद्धका मूर्ति पनि बनाउँदै आउनुभएको छ । त्यस्तै जीवजनावर र मान्छेका मूर्ति बनाउन पनि उहाँ खप्पिस भइसक्नुभएको छ । कहिले पनि विद्यालयको ढोका नटेक्नुभएका नेपाली अक्षर चिन्नुहुन्न । उहाँले देवीदेवताका मूर्ति ४० वर्षदेखि बनाउँदै आउनुभएको छ । उहाँ आफँै हिसाब लगाउनुहुन्छ, “अहिलेसम्म चार हजारभन्दा बढी मूर्ति बनाइसकेँ हुँला ।” 

उहाँलाई मूर्ति बनाउन धेरै मेहनत खर्चिनुपर्छ । एउटा मूर्ति बनाउन कम्तीमा रु तीन हजार बढी रकम खर्च हुन्छ तर आम्दानी भने उति धेरै हुँदैन । उहाँ सुनाउनुहुन्छ, “एउटा मूर्तिलाई रु पाँच हजारदेखि रु १५ हजारसम्म भन्ने गरेको छु । त्यही पनि मूर्ति किन्न आउने धेरै मोलमोलाइ गर्छन् । मूर्तिलाई भनेअनुसारको मूल्य दिँदैनन् ।” 

नेपालीले मूर्ति बनाएर आएको रकमबाटै घरव्यवहार चलाउने गर्नुभएको छ । सानैदेखि मूर्ति बनाउँदै आउनुभएका नेपाली अहिले ६१ वर्ष पुग्नुभयो अर्थात् विसं २०१४ मा भारतको कानपुरमा उहाँको जन्म भएको थियो । उहाँ कानपुरबाट २०१८ सालमा घर फर्किनुभयो । घर फर्किएपछि उहाँले बुबासँगै घोराहीमा घर बनाउनेदेखि मूर्ति बनाउनेलगायत विभिन्न काम गर्न थाल्नुभयो । उहाँको पुरानो घर घोराही– १३ सेवारमा थियो । बाल्यकाल भारतमा बिते पनि पछि उहाँले बुबासँगै पुरानो घर सेवार फर्केर मूर्ति बनाउने कला सिक्नुभयो । 

“घोराहीको मुख्य केन्द्रमा रहेको बालमन्दिर स्कूल हामी बाबु छोराले बनाएका हौँ”, उहाँ सम्झनुहुन्छ । “स्कूल बनाउँदा मैले बुबालाई गाह्रो लगाउन सहयोग गरेको थिएँ ।” त्यो समयमा गरिएको त्यो ठूलो काम भएकाले नेपालीका लागि त्यो काम अहिले पनि सम्झना र गर्वका रुपमा रहेको छ । 
घर बनाउन सक्ने भए पनि नेपालीले आफ्नो मुख्य पेशा मूर्र्तिकलालाई बनाउनुभएको छ । नेपालीले एक वर्षका अवधिमा चार पाँच सय मूर्ति बनाएर बिक्री गर्ने गर्नुभएको छ । त्यही मूर्ति बेचबिखन गरेरै घर चलाउने गरिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ मैले बनाएका मूर्ति दाङसँगै विदेशसमेत पुगेका छन् ।” 

नेपालीका अनुसार उहाँले बनाएका मूर्तिमध्ये घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मुख्य मन्दिरमा बनाइएको बराहको मूर्ति, मसिनामा रहेको गणेश मन्दिरको गणेश मूर्ति, घोराहीको लखन थापा उद्यानको शहीद लखन थापाको तथा मालपोत र नापी कार्यालयका मूर्ति प्रसिद्ध छन् । 
पछिल्लो समय उहाँ मूर्ति बनाएर बेच्नेभन्दा पनि मागअनुसार मूर्ति बनाउने गरेको सुनाउनुहुन्छ । “पछिल्लो समय मूर्ति किन्ने मानिसको सङ्ख्या घट्दै गएको छ, मन्दिरमा राख्नका लागि मात्र किन्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले पछिल्लो समय कमै मूर्ति बनाउने गर्दै आएको छु ।” उहाँका अनुसार चाडपर्वका समयमा धेरै मूर्ति बनाउने आदेश आउने गरे पनि अन्य समयमा खासै बिक्री हुँदैन । शुरुका दिनमा माटो र काठबाट विभिन्न देवीदेवताको मूर्ति बनाउने गर्नुभएका नेपालीले पछिल्लो समय कङ्क्रिटबाट मूर्ति बनाउने गर्नुभएको छ । माटो र काठबाट बनेको भन्दा बढी कङ्क्रिटबाट बनेका मूर्ति टिकाउ हुने र बिक्री हुने भएकाले केही वर्षदेखि माटो र काठबाट मूर्ति बनाउने काम छाडेको उहाँको भनाइ छ । 

कङ्क्रिटका मूर्ति बनाउन उहाँ सिमेन्ट, बालुवा, गिट्टी, छडलगायत सामग्रीको प्रयोग गर्नुहुन्छ । उहाँका अनुसार पछिल्लो समय घोराहीमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तको मूर्तिसमेत बनाउन आदेश दिएका छन् । आफ्नो पुख्र्याैली पेशाका रुपमा रहेको मूर्ति बनाउने पेशाले अहिले आफूलाई जिउन सहयोग पु¥याएको नेपालीको भनाइ छ । उहाँ एक्लै मूर्ति बनाउनुहुन्छ । ॐ मूर्तिकला केन्द्रका प्रोपाइटर उहाँ आफ्नो मूर्ति बनाउने पेशा आर्थिक आम्दानीसँगै आफ्नो धर्म संरक्षणका लागि सानो प्रयास भएको बताउनुहुन्छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया