प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताएका छन् । “कहिले देशको आवश्यकता र संसद्को गणित फरक पर्छ । कहिले कृत्रिम ढङ्गले केही मानिसले संसदीय गणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्”, उनले भने, “संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अङ्क गणितमा यदि अनुपयुक्त खेल भइरहेको छ भने त्यसले अनुपयुक्त आकार लिइरहेको छ । त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ । त्यस्तो अवस्थामा संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ । त्यो राजनीति हो ।”
प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकताअनुसार संसद्को अङ्क गणित बनाइनुपर्नेमा जोड दिए । उनले यदि संसदीय अङ्क गणितले देश, जनता र विकासको आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्ने जिकिर गरे ।
उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताए । प्रधानमन्त्रीले देशको आवश्यकतासँग अङ्क गणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूले संसद् विघटन गरेको प्रष्टीकरण दिए । “राष्ट्रिय आवश्यकतासँग अङ्क गणितले तादात्मयता राखेन, हामीले तादात्मयता राख्न कोसिस गर्यौ, भएन । तब ताजा जनादेशमा जानु पथ्र्यो”, उनले भने, “मेरो विचारमा फेरि पनि ढिलोचाँडो ताजा जनादेशबाट अहिलेको अङ्क गणितमा हेरफेर नगरी, अनुकूल अङ्क गणितबिना देश अगाडि जानै सक्दैन । त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ । देशको विकास र राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्ने खालको अंक गणित निर्माण गर्नुपर्दछ ।”
उनले संसदीय समितिले विकास निर्माणका कामलाई जथाभावी छानविन गर्ने र त्यसले विकास निर्माणमा असर पार्ने गरेको समेत बताए ।
प्रतिक्रिया