विराटनगर - प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।
जवाफ पठाइरहनुको औचित्य नै नभएको भन्दै उनले स्पष्टीकरणको जवाफ नदिने भएका हुन् । साथै स्पष्टीकरण पत्र आफूले अध्ययन पनि नगरेको बताएका छन् ।
दलको विधान विपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टाको अवधिमा पत्र नपठाएका उनले जवाफ लेख्नुको औचित्य पनि नभएको बताए ।
माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि उनी मन्त्री बनेका हुन् । प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठक चैत २३ गते बस्दैछ ।
माओवादी केन्द्रको संसदीय दलको नेता त्याग गर्दै एमाले प्रवेश गरेर मन्त्री बनेका आङ्बुहाङलाई बैठक अघि नै पदमुक्त गर्ने तयारी माओवादीले गरेको छ ।
माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जवाफ नआए पदमुक्त गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराउने बताए । पदमुक्त भए उनी सांसदको हैसियतमा प्रदेशसभा बैठकमा सहभागी हुन पाउने छैनन् ।
प्रतिक्रिया