काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ ।
उनीहरुले दिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेका हुन् ।
एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् ।
फेरि उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
यसअघि ओलीले नेता माधवकुमार नेपाल र भिम रावललाई निलम्बन गरेका थिए ।
प्रतिक्रिया