नेपालको मौलिक संस्कृतीलाई रक्षा गर्ने र माक्र्सवादी संस्कृतीको प्रचारको उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीको सञ्चालन र अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत क्षितीज सांस्कृतिक परिवारको प्रस्तुतीमा गत २१ गतेदेखी सुरु भएको भएको जनवादी देउसी भैलो कार्यक्रम ६ दिनपछि सोमबार समापन भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तिहारको अवसर पारी २१ गतेदेखी सुरु गरेको देउसी भैलो कार्यक्रम समिक्षा गर्दै सोमबारदेखी सम्पन्न गरेको हो । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बजार, गरगरे, सालझण्डी बजार, झिमझिमे बजार, बाँसगढी, रामापुर कलोनी बजार, मुर्गिया चोक, नयाँगाउँका विभिन्न स्थान, जितगढी किल्ला, बुटवलको मैनाबगर, चन्द्रनगर, सुख्खानगर, तिनकुने चोक, शंकरनगर, शान्ति चोक, देवदहको खैरेनी बजार लगायत झण्डै दुई दर्जन स्थानहरुमा जनवादी देउसी भैलो तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।
यता ध्वनी प्रदुषण र वाह्य संस्कृतीको हस्तक्षेपको नाम दिदैं विद्युतीय सामग्रीको बजाउन रोक लगाएको देवदह नगरपालिकामा समेत नेकपाले आफ्नो शानदार प्रस्तुती देखायो । स्थानीय सरकारलाई देवदह नगरपालिकामा रहेको खैरेनी बजारमा नगरपालिकाले साउण्ड सिस्टम सहित आफ्नो प्रस्तुती देखाउँदा खैरेनी बजार नै चकित प¥यो । आफूहरुले यो राज्यसत्ता नमान्ने भन्दै विगतदेखी नै संघर्ष गर्दै आईरहेको पार्टीले यो सत्ताले गरेको कुनै पनि निर्णयहरुलाई नमान्ने भन्दै यो निर्णयसमेत विदेशी संस्कृतीलाई संरक्षण गर्ने र नेपाली मौलिक संस्कारलाई समाजमा स्थापित गर्न नदिने चलखेल रहेको भन्दै आफ्नै देशमा आफ्नो संस्कार र संस्कृतीको रक्षार्थ आफूहरुले गरेको कार्यक्रम रोक लगाउन कसैले नसक्ने भन्दै सो पार्टीका जिल्ला ईन्चार्ज संगमले आफूहरु राज्यसत्तालाई नै अस्वीकार गरेको भन्दै कसैले भनेर आफ्नो पार्टीको कुनै पनि कार्यक्रम नरोकिने बताए । प्रहरीहरुको दमन र हस्तक्षेपको विचपनि कलाकारहरुले आफ्नो प्रस्तुती देखाए । एक हुल युवा र युवती फौजी ड्रेसमा बसबाट ओर्लेर बजारको चोकमा, युवकका हातमा खुकुरी समेत हुन्छ, शीरमा रातो तारा अंकित टोपी लिएर आफ्नो प्रस्तुती देखाउँदा देवदहबासीहरु समेत उत्साहित देखिन्थे ।
क्षितिज सांस्कृतिक परिवारको जनवादी देउसी भैलोमा थारु,भोजपुरी,मगरहरुको सालैजो,सोरठी,कौडा टप्पा,तामांगसेलो, आदि जनजातिका संस्कृतिमा आधारित गीत र नृत्य पनि कलाकारले पस्केका छन् भने शहीदप्रति समर्पित गीतसंगै,वर्तमान केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध पनि कलाकारले उत्तिकै सशक्त ब्यंग्य प्रहार गरेका छन् । बढ्दो महंगी,भ्रष्टाचार,बलात्कार र हत्या,वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण,बेरोजगारी,युवा शक्तिको विदेश पलायन,पश्चिमा छाडा संस्कृतिले नेपाली मौलिक संस्कृतिमाथि गरेको अतिक्रमण र जनजिविका जस्ता विषयमा कलाकारले मार्मिक गीत र नृत्य प्रस्तुत गर्दा उपस्थित सबैले मन पराएर साथ दिन्छन् । गीत र नृत्य सुनेर हेरेर बाटोमा हिंड्दै गरेकाहरु पनि एकछिन रोकिन्छन् अनि सक्दो आर्थिक सहयोग गरेर हिंडछन् । जसले गर्दा नेकपाका नेता कार्यकर्ता, कलाकार थप उत्साहित हुन्छन् । मुलुकमा कम्युनिष्ट भनिनेहरुको दुई तिहाईको सरकार भएपनि जनताका आधारभूत समस्या जस्ताको त्यस्तै रहेका महंगी, भ्रष्टाचार, हत्या, हिंसा बढेको नेपाली भूमि अतिक्रमण हुंदै ६० हजार हेक्टर भन्दा बढी गुमेको, ब्यापार घाटा चुलिएको, सरकारले बलात्कारी, सुन तस्कर र सिण्डिकेटलाई संरक्षण गरिरहेको जस्ता कारणले जनतालाई यसबारे बुझाउन र एकीकृत जनक्रान्तिका लागि तयार रहन आव्हान गर्न जनवादी देउसी भैलोलाई माध्यम बनाइएको अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनीका संयोजक खोमा तरामु मगरले बताए ।
६ दिनसम्म चलेको जनवादी देउसी भैलोमा झण्डै १० लाख ५२ हजार २५० रुपिँया बराबरको स्वच्छीक आर्थिक सहयोग उठेको सो पार्टीका जिल्ला सेक्रेटरी अमरले बताए । झण्डै २ दर्जन कलाकार, पार्टी जिल्ला कमीटि र स्थानीय कमीटिहरुविच समन्वय गरी जनवादी देउसी भैलो कार्यक्रम २१ ठाउँमा प्रदर्शन गरीएको सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया