काठमाडौं - रू रू जलविद्युत् परियोजनाले चैत २० गते शुक्रबारदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्न लागेको हो । कुल कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरूलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
स्थानियमा न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्यसहित आईपीओ जारी गर्न लागेको छ । कम्पनीले अंकित मूल्य रू. १०० मा रू. २० प्रिमियम थप गरी प्रतिकित्ता रू. १२० मा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।
यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म बिक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र बिक्रीमा रहने कम्पनीको भनाइ छ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीले पहिलो चरणमा गत फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ बिक्री गरी चैत ९ गते बाँडफाँड गरिसकेको छ ।
प्रतिक्रिया