उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, २२ वर्ष अघिको बदला लिने होडमा नेपाल

४ बर्ष अगाडि

काठमाडौं - त्रिदेशीय कपको उपाधिका लागि आज नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशको राष्ट्रिय फुटबल टिमबीच भिडन्त हुँदै छ । 

दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजेदेखि शुरु हुने छ । उपाधि जित्ने टिमले ५ हजार डलर पुरस्कार पाउँदा उप विजेता हुने टिमले २५०० डलर प्राप्त गर्ने छ ।

राजधानीमा जारी उक्त प्रतियोगितामा चार अङ्कका साथ बंगलादेशले फाइनलमा स्थान बनाउँदा नेपालले पनि २ अङ्क जोड्दै फाइनल स्थान पक्का गरेको थियो । यो प्रतियोगितामा कीर्गिस्तान पनि सहभागि थियो ।

कीर्गिस्तान बंगलादेशसँग आत्मघाति गोलका कारण पराजित हुन पुग्यो भने नेपालसँग गोलरहित बराबरी खेल्दा एक अङ्क मात्रै जोडेर प्रतियोगिताबाट बाहिर भएको हो ।

नेपाली राष्ट्रिय टिमले डेढ वर्षअघि विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध २ गोल गरेपछि अहिलेसम्म गोल गर्न सकेको छैन् । 

पछिल्लोपटक सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए । 

सो खेल बंगलादेशले १–० ले जितेर नेपाललाई आफ्नै घरेलु मैदानमा घरेलु दर्शकसामु स्वर्ण पदक जित्नबाट वञ्चित गरेको थियो ।सो निरास क्षणको बदला लिने मौका छ अहिले । 

यसअघि १९८४ मा भएको पहिलो दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हराएको थियो । त्यसो त नेपालले बंगलादेशसँग पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । 

पछिल्लो जित भनेको नेपालले अगस्ट २०१३ मा पाएको थियो । त्यस बेला अनिल गुरुङ र भरत खवासको गोलको सहयोगमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो ।

यसपछि चार खेल खेलेकोमा दुईमा बंगलादेश जित्यो भने दुई खेल गोलरहित बराबरीमा समाप्त भएको थियो, जसमा जारी थ्री नेसन्स कपको लिग खेल पनि थियो । 

साथै नेपालले गत सेप्टेम्बरमा विश्वकप छनोटअन्तर्गत खेलमा चिनियाँ ताइपेईलाई २–० ले हराएयता गोल गर्न पनि सकिरहेको छैन ।उक्त खेलमा दुवै गोल अञ्जन विष्टले गरेका थिए ।

अहिले अञ्जनले नेपाली टिमको फरवार्ड विधामा नेतृत्व गरिरहेका छन् । उनले पहिलो खेलमा किर्गिस्तानविरुद्ध होस् या दोस्रो तथा अन्तिम लिग खेलमा बंगलादेशविरुद्ध होस् गोल गर्न चुकेका थिए । 

यस्तो नतिजाका कारण नेपालले गोल गर्न नसकेको खेलको संख्या ७ पुगिसकेको छ । नेपालका लागि यो फाइनलमा गोलको खडेरी तोड्न सक्ने आस पनि गर्न सकिन्छ, त्यही २२ वर्षअघि फाइनलमा हारेको बदला लिने मौका पनि छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया