मेलम्चीको पानी वितरण , आधा घण्टामा उपभोक्ताको घरमा पुग्ने !

४ बर्ष अगाडि

मेलम्ची खानेपानी आयोजनाको महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी एक कार्यक्रमबीच खानेपानी वितरण प्रणालीमा पठाइएको छ । दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ चाबी खोलेर भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाए । अबको आधा घण्टामा पानी उपभोक्ताको घरको धारामा पानी पुग्ने बताइएको छ । अहिले चाबहिल, मित्रपार्क, बत्तिसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको छ । ​

महांकाल चौरमा ८५ लाख खान पानी लिटर स्टोर गर्ने क्षमता रहेको छ । हाल दैनिक २ करोड लिटर पानी वितरण गरिनेछ भने केही दिनपछि ३ करोड लिटर पानी वितरण गरिने बताइएको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ ।  

यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

साँझ ७ बजेदेखि ८ बजेसम्म पुनः महांकालचौरीको ट्यांकी भरिनेछ भने त्यसपछि राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी आउनेछ ।  यस्तै दोस्रो दिन राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरेर २ देखि बिहान ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउनेछ । त्यसपछि फेरि ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ । यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी डोलमा पानी आउनेछ । 

यस्तै अपरान्ह ४ बजेदेखि ५ बजेसम्म ट्यांकीमा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म  चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ । 

पानी आउने दिनको पहिलो दिनमा आइतबार र दोस्रो दिनमा सोमबार मान्दा त्यसको एक दिन बिराएर धारमा पानी आउनेगरी तालिका बनाइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया