काठमाडौं - छ लेन सडक निर्माणाधीन हुँदा धनगढी उपमहानगरपालिका क्षेत्रमा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत १० किमी सडकको निर्माण एवं स्तरोन्नति गर्ने काम पनि शुरु भएको छ ।
धनगढी उपमहानगरपालिकाको मुख्य सडक ट्राफिक चोकदेखि कैलाली खोलासम्म, शहीद गेटदेखि क्याम्पस रोडसम्म, गुल्मदेखि चर्च पुग्ने सडक र मालपोत सडकसमेत गरी झण्डै १० किलोमिटरको सडक स्तरोन्नति गर्न लागिएको हो ।
आयोजना कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर प्रविन शाहले पहिलो चरणको काम पूरा भएपछि धनगढीमा थप तीन दशमलव पाँच किलोमिटर सडकसमेत स्तरोन्नति गर्न लागिएको बताए ।
“पहिलो चरणको कामका लागि रु ६८ करोडमा ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ”, उनले भने, “आगामी दुई वर्षभित्र यो काम पूरा गर्ने लक्ष्य तोकिएको छ ।” आयोजनाअन्तर्गत नालीसहितका सडक निर्माणका साथै फोहर व्यवस्थापन र संस्थागत सुधार जस्ता काम गरिँदै छ ।
धनगढी उपमहानगरपालिकाका इञ्जिनीयर द्वीजराज भट्टले यो आयोजनाअन्तर्गत नै उपमहानगरपालिका क्षेत्रको फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भई वातावरणीय प्रभावको अध्ययन भइरहेको बताए ।
उपमहानगरपालिका–७ खुटिया नदी छेउको झण्डै २२ हेक्टर जग्गामा फोहर व्यवस्थापन गर्न नेपाल सरकारसँग जग्गाको भोगाधिकार माग गरिएको छ । “हालका सडकको चौडाइ बढाएर निर्माण तथा स्तरोन्नति गर्ने काम भइरहेको छ”, इञ्जिनीयर भट्टले भने, “सडक क्षेत्रमा पर्ने संरचनालाई सम्बन्धित घर धनीले भत्काएर सडक स्तरोन्नतिको कामलाई सघाइरहनु भएको छ ।”
क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत नै पहिलो चरणमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा रु ८७ करोडको लागतमा १४ दशमलव पाँच किलोमिटर, शुक्लाफाँटा नगरपालिकामा रु २४ करोड ७५ लाखको लागतमा चार दशमलव पाँच किलोमिटर र कैलालीको गोदावरी नगरपालिकामा रु ४८ करोडको लागतमा १६ दशमलव पाँच किलोमिटर सडकको निर्माण तथा स्तरोन्नति गरिँदै छ ।
यसबाहेक शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिको हकमा नगरपालिकाको भवन निर्माण भइरहेको छ । व्यवस्थित र आकर्षक शहरको विकास गर्नका लागि आयोजनाअन्तर्गत सडकको स्तरोन्नतिका साथै सडकका किनारमा नाली निर्माणका साथै फोहरमैला व्यवस्थापनलगायतका काम गर्न लागिएको हो ।
शुरुका अवस्थामा धनगढी उपमहानरपालिका क्षेत्रमा यो आयोजनाअन्तर्गत ४१ किलोमिटर सडकको स्तरोन्नति गर्ने भनिएको थियो । आयोजना कार्यान्वयनमा भएको ढिलाइसँगै स्तरोन्नति हुने भनिएका सडकको लम्बाइ घटेको छ ।
धनगढी क्षेत्रमा पाँच वर्षअघि गरिएको लागत अनुमान डिजाइनअनुसार ‘फिडर’ सडकसमेत जम्मा ४१ किमी सडकको स्तरोन्नति गर्ने भनिएको थियो । त्यतिबेला छुट्याइएको बजेट र सडकको गुणस्तरलाई समेत ध्यानमा राखेर उपमहानगरपालिकासँग भएको समझदारीअनुसार स्तरोन्नति हुने सडकको लम्बाइ र सङ्ख्या हाल घट्न गएको बताइएको छ ।
एशियाली विकास बैंकको आयोजना समन्वय कार्यालय र धनगढी उपमहानगर कार्यालयका बीच धनगढी उपमहानगर क्षेत्रमा शहरी पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौता गरिएको थियो ।
विनायोजना शहरका रुपमा विकास हुँदै गएको धनगढी उपमहानगरपालिका क्षेत्रका बस्तीमा वर्षायाममा डुबान, नदी कटानका साथै ढल निकास, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबासस्तरीय सडकको अभाव आदि मुख्य समस्या रहेका छन् ।
धनगढी आसपासका ठूला सडकको स्तरोन्नतिको काम हुनु उपलब्धि भए पनि भित्री छोटो दूरीका जीर्ण बन्दै गएका सडक मर्मतसम्भार भने हुन नसकिरहेको गुनासो नगरवासीको छ ।
छोटो दूरीका भित्री सडकको स्तरोन्नतिको काम नहुँदा सहज आवागमनमा समस्या हुने गरेको गुनासो स्थानीय मानबहादुर केसी गर्नुहुन्छ । बसाइँसराइको चापसँगै धनगढीको जनसङ्ख्या पनि वर्षेनी बढ्दै गएको छ ।
दुई दशकअघिसम्मका खेती हुँदै आएका जमीन विस्तारै घर घडेरीमा बिक्री भई आवासीय क्षेत्रका रुपमा विकसित भइरहेका छन् । झण्डै एक लाख ५० हजार जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकाका अधिकांश ग्रामीण वडामा समेत अझैसम्म उचित सडक र खानेपानीलगायतका शहरी पूर्वाधार जुट्न सकेका छैनन् ।
प्रतिक्रिया