एमाले विवाद : ओली र नेपाल पक्षको छुट्टाछुट्टै संसदीय दलको बैठक

४ बर्ष अगाडि

काठमाडौं - आज नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएको छ । पार्टीको सिंगो संसदीय दलको बैठक भनिए पनि प्रधानमन्त्रीको सरकारी निवासमा बैठक डाकिएपछि नेपाल समूह झनै आक्रोशित भएको छ । 

यो बैठक बिहान १०ः३० बजेलाई डाकिएको छ । सरकारी निवासलाई पार्टीको अखडा बनाउन खोजेको भन्दै नेपाल समूहले पार्टी मुख्यालयमै बैठक गर्नुपर्ने भनिरहेको छ । उसले संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा र केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालयमा डाक्नुपर्ने बताइरहेको छ । 

त्यस्तै ओली समूहले नै केन्द्रीय कमिटी बैठक मध्यान्ह १२ बजे बोलाएको छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पहिलो बैठक बिहान १०ः३० र दोस्रो बैठक मध्यान्ह १२ बजे बालुवाटारमा डाकिएको छ । 

यता, नेपाल–खनाल समूहले उक्त बैठकमा नजाने बताइसकेको छ । उसले फागुन २८ को निर्णय फिर्ता लिन माग गरेको छ । त्यस्तै अदालतको सम्मान गर्न समेत आग्रह गरेको छ । 

उक्त समूहले चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय भेला नै आयोजना गरेको थियो । उसले चैत ६ देखि देशभर समानान्तर भेला नै गरिरहेको छ । 

नेपाल समूहले शनिबार १०ः३० बजे नै संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरुलाई बोलाएको छ । छलफलका लागि उक्त भेला बोलाइएको नेपाल समूह निकटका सांसद जीवनराम श्रेष्ठले बताएका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता टुक्राइदिएर २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्याइदिएपछि एमालेभित्र निकै नै किचलो भइरहेको छ । ओली समूह र नेपाल–खनाल समूहबीच चर्काचर्की चलिरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया