काठमाडौं - नेकपा एपालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय दल र पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
तर, खनाल-नेपाल पक्षले भने ओलीले बोलाएका बैठकमा नजाने निणर्य लिएको छ ।
खनाल-नेपाल समूहको शुक्रबार बसेको स्थायी समिति बैठकले ओलीले शनिबारका लागि बोलाएका संसदीय दल र केन्द्रीय समिति बैठकमा नजाने निणर्य गरेको हो ।
शुक्रबार बानेश्वरमा बसेको खनाल-नेपाल समूहको स्थायी समितिको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको साटो प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजेकाले बहिष्कार गर्ने निणर्य गरेको छ ।
दलको कार्यालय वा संसद भवनमा बैठक राखेर उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरे सहभागी हुने विषयमा विचार गर्ने नेपाल पक्षका नेताहरुको भनाइ छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकबाट संसदीय दलको विधान पारित गर्ने तयारी रहेको ओली पक्षीय नेताहरुले जानकारी दिएका छन् ।
यसअघि बिहीबार बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि विशाल भट्टराईको नेतृत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो ।
भट्टराईसहित शेरबहादुर तामाङ र विमला राई पौड्याल सदस्य रहेको कार्यदलले पेश गरेको संशोधित विधानको मस्यौदा आज बस्ने बैठकले पारित गर्ने छ ।
संसदीय दल पछि मध्याह्न १२ बजेतिर बालुवाटारमा नै केन्द्रीय समिति बैठक बस्ने छ । केन्द्रीय समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने ओली पक्षीय नेताहरुको भनाइ छ ।
ओलीले बिहीबार बोलाएको संसदीय दलको बैठकमा समेत खनाल(नेपाल अनुपस्थित थियो ।
अध्यक्ष ओलीले फागुन २८ गते आफूहरुलाई थाहै नदिइ (एकलौटी) रुपमा गरेको निणर्य फिर्ता नहुँदासम्म ओलीले बोलाएका बैठकमा नजाने खनाल-नेपाल पक्षका नेताहरुको भनाइ छ ।
प्रतिक्रिया