काठमाडौं– भरतपुर महानगरपालिकाले कर अभियानको शुभारम्भ गरेको छ ।
लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्नका लागि आज कर अभियानको शुभारम्भ गरिएको हो ।
‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने उद्देश्यका साथ महानगरपालिकामा कर अभियानको घोषणा गरिएको हो । कर अभियान घोषणाका क्रममा महानगर प्रमुख रेनु दाहालले समृद्ध महानगरपालिका निर्माणका लागि कर अभियान घोषणा गरिएको बताइन ।
महानगरपालिकाभित्रको विकासको काम चित्तबुझ्दो भइरहेको उल्लेख गर्दै उनले महानगरको आन्तरिक आम्दानी वृद्धिका लागि कर अभियान घोषणा गरिएको जानकारी दिइन । स्थानीय सरकार आएको पहिलो पाँच वर्षमा महानगरपालिकाले आन्तरिक आम्दानी बढाएर वार्षिक रु एक अर्ब पु¥याउनु पर्ने लक्ष्य रहेको दाहालले बताइन । सो लक्ष्य पूरा गर्नुपर्ने महानगरलाई चुनौती रहेको जनाउँदै उनले कर अभियानमा सबैलाई सहभागी हुन आग्रह गरिन ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं राजस्व परामर्श समिति संयोजक पार्वती शाह ठकुरीले महानगरपालिकाले करमैत्री नीति तथा कार्यक्रम ल्याएको बताइन । पछिल्लो समय महानगरपालिकाले करको दर र दायरा सबैको सहमतिअनुसार नै बढाएको भन्दै नगरवासीको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन । स्थानीय सरकार आउनु अगाडि भरतपुरमा सीमित मात्रामा कर उठिरहेको अवस्थामा महानगर भएपछि करको दर तथा दायरा बढाइएको उनले जानकारी बताइन ।
अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा महानगरको आन्तरिक आम्दानी रु ९२ करोड भएको उल्लेख गर्दै उनले यस आव २०७७÷ ०७८ मा रु ९० करोड सङ्कलन गर्ने लक्ष्य रहेको बताइन । कोभिड– १९ का कारण राजस्व सङ्कलनको लक्ष्य थोरै राखिएको उपप्रमुख ठकुरीले बताइन ।
कार्यक्रममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले राजस्वको दायरा फराकिलो बनाउने, राजस्वको क्षेत्र पहिचान गर्दै राजस्व सङ्कलन गर्नका लागि कर अभियान घोषणा गरिएको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, चितवन उद्योग सङ्घलगायतका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
प्रतिक्रिया