माग अनुसार गाडी ल्याउन नसकेर आत्तिए व्यापारी, साउनदेखि ९ हजार ६ ७० गाडी र १ लाख ९३ हजार मोटरसाइकल भित्रिए

४ बर्ष अगाडि

नेपालमा चालू आर्थिक वर्षको सात महिनामा निजी प्रयोजनका लागि प्रयोग हुने सवारी साधनको माग अत्यधिक भएपछि  आपूर्ति गर्न नसकेर व्यवसायीहरु अताल्लिएका छन् । उपभोक्ताले जीप, कार, भ्यान तथा मोटरसाइकल र स्कूटरको अत्यधिक माग गरेपछि आपूर्ति गर्न नसकेर अटोमोबिल्स व्यवासायी अताल्लिएका हुन् । 

देशमा गएको साउनदेखि माघ महिनासम्म ९ हजार ६ सय ७० वटा निजी कार, जिप, भ्यान तथा १ लाख ९३ हजार  ८०३ वटा मोटरसाइकल तथा स्कूटर आयात भएको भन्सास विभागले जनाएको छ । 

कोभिड–१९ को महामारीको कारण घट्ने आशंका गरिएको सवारी साधनको ब्यापार गतवर्षको भन्दा पनि धेरे भएको व्यवसायीहरुको भनाई छ । लकडाउनको समयमा चारपांग्रे सवारीको बजार केही मात्रामा सुस्ताएपनि दुई पांग्रे सवारीको माग धेरै धेरै नै थियो। लकडाउन खुलेपछि दशैंपछि त झन माग अत्यधिक बढेको नाडा अटोमोबिल्स अफ एसोसियसनका अध्यक्ष कृष्णप्रसाद दुलालको भनाई छ । 

उनका अनुसार अहिले बजारमा चार पांग्रे सवारीको माग विगतको तुलनामा करिब १ दशमलव २५ गुणा बढेको छ । बुक भएका गाडी सवारीधनीको हातमा पु¥याउन दुई महिनासम्मको भाका राख्ने गरेको व्यवसायीहरुको भनाई छ ।  

नेपालमा मोटरसाइकल र स्कुटरको माग यति धेरै छ कि, निर्माता कम्पनीबाटै मागेअनुसार आपूर्ति समयमा हुन नसकेको टीभीएसका आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपध्यक्ष दीपक अग्रवाल बताउँछन् ।

बजारमा मागअनुसार आपूर्ति कम हुँदा बैंकबाट सवारी किन्न हुने ऋण लगानी पनि माघ महिनामा घटेको छ । यो आर्थिक वर्षमा वर्ष लगातार बढिरहेको ‘हायर पर्चेज कर्जा’ पुसको तुलनामा माघमा २ दशमलव ०४ प्रतिशतले कमी आएको राष्ट्रबैंकले जनाएको छ । तथ्यांक अनुसार पुसमा १ खर्ब ३८ अर्ब रहेको सवारीमा लगानी भएको ऋणको हिस्सा माघ मसन्तसम्म १ खर्ब ३५ अर्बमा झरेको छ । 

कोरोना महामारीको समयमा सार्वजनिक सवारीको यात्रा जोखिमपूर्ण हुने भएपछि निजी सवारी किन्न चाहानेहरु बढेको विष्लेषण व्यवसायीहरुको छ । त्यसमाथी सार्वजनिक सवारी साधनको अस्तव्यस्तता, सडकको अवस्था आदी कारणले पनि निजी सवारीसाधनको माग बढेको उनीहरुको भनाई छ । 

बजारमा अहिले सवारीका पार्टपूर्जा, लुब्रिकेन्ट र टायर पनि मागअनुसार बजारमा आपूर्ति हुन सकेको छैन । चालू आर्थिकवर्षको अन्त्यसम्म पनि अहिलेकैजस्तो माग भयोभने  पार्टपूर्जा अभाव देखिन सक्ने ब्यापारीहरुको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया