नेपालकाे व्यापार घाटा ७ खर्ब ७७ अर्ब,  अघिल्लो वर्षभन्दा ०.७ प्रतिशत कम

५ बर्ष अगाडि

चालू आर्थिक वर्षको ७ महिनामा नेपालले रु.७ खर्ब ३३ अर्ब ७३ करोड बराबरको व्यापार घाटा ब्यहोरोको छ । गएको साउनदेखि माघसम्म रु.८ खर्ब ३ अर्ब ६४ करोडको आयात हुँदा निर्यात  रु.६९ अर्ब ९२ करोडमा मात्रै खुम्चिएपछि सो ब्यापार घाटा भएको हो । 

उक्त व्यापार घाटा अघिल्लो वर्षकाे तुलनामा भने शून्य दशमलव ७ प्रतिशतले कमी हो । गतवर्षको सोही अवधिमा रु.७३ खर्ब ८ अर्ब ६३ करोड बराबरको ब्यापार घाटा भएको थियो । गत आर्थिक वर्षमा नेपालको ब्यापार घाटा ५.३ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । 
अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिनामा नेपालबाट वस्तु निर्यात ७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ  भने आयात शून्य दशमवल ०१ प्रतिशतले वृद्धि भएको राष्ट्रबैंकले जनाएको छ । 

गतवर्षको साउनदेखि माघ महिनासम्म रु ६४ अर्ब ९७ करोड बराबरको निर्यात भएकोमा चालू आर्थिक वर्षमा रु.६९ अर्ब ९२ करोड पुगेको छ । 

यो वर्ष भारत तथा अन्यमूलुकतर्फ निर्यात बढेपनि चीनतर्फको निर्यात भने घटेको छ । तथ्यांक अनुसार गएको साउनदेखि माघसम्म भारततर्फ रु ४९ अर्ब ९४ करोड बराबरको बस्तु निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । गतवर्ष नेपालले भारततर्फ रु ४५ अर्ब ४० करोडको बस्तु निर्यात गरेको थियो । त्यस्तै अन्य मूलुकतर्फ १९ अर्ब ४२ करोडको निर्यात भएको छ । ति मूलुकतर्फ भएको निर्यात पनि गतवर्षको तुलनामा ४ दशमलव ९ प्रतिशतले बढी हो । 

तर योवर्ष चीनतर्फ गतवर्षको तुलनामा ४७ दशमलव ७ प्रतिशतले निर्यात घटेको छ । अघिल्लो वर्षको यस अवधिमा चीनतर्फ नेपालबाट १ अर्ब ६ करोडको बस्तु निर्यात भएकोमा यो वर्ष जम्मा ५५ करोडको मात्रै वस्तु निर्यात भएको छ । 
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल,जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको राष्ट्रबैंकले जनाएको छ । 

चालू आवमा कुल वस्तु आयात भई रु.८०३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२.४ प्रतिशत र १०.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया