पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चियापान बहिस्कार गरेका एमाले नेता माधव नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक पनि बहिस्कार गर्ने भएका छन् ।
मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकमा नजाने नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले बताएका हुन् ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले खनाल र नेपाल राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी नहुने जानकारी दिए ।
रिजालका अनुसार बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले उनीहरू राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने जानकारी गराएका हुन्।
यस्तै पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति भण्डारीले निम्ता गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी हुनेनहुनेबारे टुंगो नभएको उनको सचिवालयले जनाएको छ।
समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरू र पूर्वप्रधानमन्त्रीलाई मंगलबार अपरान्ह ४ बजे बोलाएकी हुन्।
प्रतिक्रिया