काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल तथा माधव नेपाल पक्षलाई कारबाही गर्ने पक्षलाई संविधान,कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।
आफूले बालुवाटारमा आयोजना गरेको चियापान समारोहमा खनाल–नेपाल पक्ष नगएपछि ओलीले उपस्थित आफ्नो पक्षका नेताहरुलाई सम्बोधन गर्दै अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
‘एउटै पार्टीमा बसेर अराजकता, विधि विधान विपरीतका क्रियाकलापमा छुट हुने छैन र मान्य हुने छैन ।अचाक्ली भयो । भाडभैलो मच्चाउने काम हुन सक्दैन,’ उनले भने, ‘अनुशासनहिन भयो भने पार्टिको विधान छ, संसद नियमावली छ । दलसम्बन्धी कानुन छ । यी सबैको ध्यानाकर्षण गर्न चाहन्छु । मनपरी हिड्न कसैलाई छुट हुँदैन । कोही पनि कानुभन्दा माथि कोही हुँदैन ।’
भोलीदेखि हुने खनाल–नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै भेलामा सहभागी नहुन एमाले नेता कार्यकर्तालाई सचेत समेत गराए । ‘अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ । यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहान्छु’, उनले भने, ‘भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’
एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताए । हिजो एकदमै अपराध गर्नले आज पनि तमासा देखाउन खोजेको भन्दै ओलीले त्यतातिर पनि एक नजर रहने उनले चेतावनी दिए ।
उनले खनाल–नेपाल समूह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी फुटाएको र आफूलाई कारबाही गरेको पनि बताए । ‘एक ढंगले पार्टी फुटाइएकै थियो । अध्यक्ष्लाई कारबाही गरिएको थियो । महासचिवलाई हटाएको थियो । बाटै बाट अध्यक्ष निकाल्दिनु भयो। बाटैमा अध्यक्ष बनाइदिनु भयो,’ उनले भने, ‘मलाई त साधारण सदस्यबाट पनि निष्काशित गरेकै हो । जंगलको राज चलाउने विधि पद्धतीका कुरा गर्ने ?’
ओलीले नेपाल समूह चियापान समारोहमा किन नआएको आफूलाई थाहा भएको भन्दै भने, ‘सबैलाई थाहा छ तर नभनौँ । एकथरि अनुहार देखिएन आज। राम्रो लक्षण होइन । कुनै कारणले आउनु भएन भन्ने ठान्छु । भोलि कता भेला छ रे एक नजर त्यता राखिनेछ ।’
ओलील भने, उनीहरुले त अध्यक्ष र महासचिवलाई निष्कासन गरे । दलको नेतालाई बाटोबाटै हटायौं भने । उनीहरु यस्ताखाले विधि पद्धति रुचाउँछन् । तर, एमालेमा अब त्यो छुट कसैलाई छैन । अब उप्रान्त अराजकता, उच्छृखंलता, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन, यी कुरा मान्य हुने छैनन् ।
प्रतिक्रिया