सकियो ओली र नेपालबीचको छलफल, अडानमा आएन जवाफ

४ बर्ष अगाडि

काठमाडौं - नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल निष्कर्षबीना सकिएको छ । 

आजको बैठकमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच करिब ४ महिनापछि भेटवार्ता भएको हो । बैठकमा दुवै समूहबीच करिब २ घन्टा लामो छलफल चलेको थियो । 

प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए ।  

अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्तलगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन् ।

नेपाल र खनाल एमालेमा फर्किए पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एकलौटी निर्णय गरेपछि यो समूह असन्तुष्ट छ । 

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए । त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको बताए ।

नेपाल पक्षलाई खबर नै नगरी त्यसदिन बालुवाटारमा अध्यक्ष ओलीले २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनित गर्नेदेखि विधान संशोधनसम्मका निर्णय गरेको थियो । उक्त निर्णय सच्याउनुपर्ने नेपाल पक्षको सर्त छ ।

यस्तै नेता पन्तले अदालतले सबैलाई एकै ठाउँमा ल्याइदिएकाले एमालेलाई एकताबद्ध बनाएर सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा छलफल भएको बताए । दुबै पक्षले आआफ्नो अडान राखेको भन्दै छलफल जारी रहने पनि नेता पन्तको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया