काठमाडौं - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकबाट नेकपा (एमाले)मा गएका सांसदलाई कारबाही गर्ने तयारी गरिएको छ ।
२९ फागुनमा बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारमा रहेका ७ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । उनीहरुलाई फर्किने वा नफर्किने जबाफ दिन २४ घन्टे स्पष्टिकरण सोधिएको थियो ।
आज बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सरकारमा सहभागी ७ जना मन्त्रीलाई दलबाट निष्कासनको निर्णय गर्ने तयारी गरिएको छ ।
माओवादीले कारबाही गरेमा उनीहरुको सांसद पद गुम्नेछ । राजनीतिक दलसम्बन्धी ऐनले पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा पद गुम्ने व्यवस्था गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा केन्द्रीय कमिटीको बैठक बोलाएर माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
जसमा ७ जना मन्त्री छन् । त्यो बैठकमा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यलाई भने बोलाइएको थिएन ।
प्रतिक्रिया