काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी संसद् विघटन गरी चुनावी सरकार चलाउने तयारीका साथ लागेको खुलासा भएको छ ।
संसद्मा सत्तारुढ पक्षको अल्पमतको अवस्था सिर्जना गर्ने र अल्पमतको बाहना पारेर फेरी संसद् विघटन गरी कामचलाउ सरकार चलाएर चुनाव गराउने योजनाको खुलासा भएको हो ।
बिहीबार प्रधानमन्त्री ओलीले संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) सँगको छलफलमा उनले संसद् धेरै नचलाउने र चुनावमा जानुपर्ने प्रस्ताव समेत राखेका छन् । ‘तपाईंहरूका सबै माग पूरा गर्न म तयार छु । चाहिएको मन्त्रालय पनि दिन्छु । सरकारमा सहभागी हुनुहोस् । तर, मेरो एउटा माग छ, यो संसद् धेरै नचलाउँ । चुनावतिर लागौँ भन्ने उहाँको प्रस्ताव आयो,’ छलफलमा सहभागी जसपाका एक नेताले बताए ।
प्रधानमन्त्री ओलीको यो प्रस्तावसँगै जसपाले ओलीसँग नभई कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरेर सरकार सञ्चालनको योजना बनाउने निर्णय समेत गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकमा सहभागी एक नेताले ओलीसँगको सहकार्यले कसैलाई पनि फाइदा नहुने निष्कर्ष निस्केको बताए ।
‘ओलीको पक्षमा लाग्दा संसद् जोगिँदैन भन्ने निष्कर्ष निस्केको छ । ओली पक्षको सरकार रहे पनि एमालेभित्रको अर्को पक्षले उनको साथ छोड्ने सम्भावना धेरै छ,’ उनले भने, ‘ओलीको चाहना संसद् भंग गरेर चुनाव गराउने हो । हामी यो संसद्को कार्यकाल पूरा हुन दिनुपर्छ भन्ने पक्षमा छौं । त्यसैले ओलीको पक्षमा होइन, त्यसभन्दा बाहिरबाटै समाधान खोजौँ भन्ने कोणबाट छलफल सुरु भएको छ ।’
संसद् विघटनको बाहनाका लागि आफू अल्पमतमा परेको देखाउन ओलीले आफ्नै पार्टीका नेताहरूलाई चिढ्याउन शुरु गरेका छन् । शुक्रबार उनले पार्टीको अध्यक्ष र महासचिव बाहेकका सबै पदहरू खारेज गर्नुका साथै माधव नेपाल सहित ५ जना नेताको जिम्मेवारी खोसेका छन् । त्यसपछि माधव नेपाल पक्षले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
ओलीले संसद् नरहने बताएपछि जसपाका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर माओवादी केन्द्रसँग मिलेर ओलीको विकल्प खोज्ने प्रस्ताव राखेका छन् । संसद्को गणपूरक सङ्ख्याको हिसाबले पनि कांग्रेसकै नेतृत्वमा अहिलेको संकट समाधानका लागि अघि बढ्नुपर्ने मत एक हुने वातावरण बनेको ती नेताले बताए ।
आफ्नै पार्टीका सांसदहरूलाई कारबाही गर्ने र माओवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आएपछि विस्वासको मत लिनुको साटो प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने तयारी रहेको स्रोतको दावी छ ।
प्रतिक्रिया