काठमाडौं - एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ ।
प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान संशोधनको निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्य सहभागी थिए । प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएर अध्यक्ष र महासचिव पद मात्र कायम गर्ने निर्णय बैठकमा सुनाएको जनाइएको छ ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक भने चैत ७ गते बोलाएका छन् । तर, त्यसअगावै ओलीले आफू र महासचिवबाहेक पदाधिकारीको जिम्मेवारी हटाउनेदेखि आफूनिकट नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी तोकेका हुन् ।
वरिष्ठ नेता नेपालले सम्हाल्दै आएको विदेश विभाग प्रमुखको जिम्मेवारी डा। राजन भट्टराईलाई दिइएको छ । प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ ।
पूर्ववत् एमालेमा योगेश भट्टराईलाई यो जिम्मेवारी थियो ।
प्रतिक्रिया