कसरी पुग्ने धार्मिक तीर्थस्थल लिमी लाप्चा ?

४ बर्ष अगाडि

काठमाडौं-  हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदलयात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ । सिमकोटबाट दुई दिन जति गाउँमा बास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग पाल र खाने कुरालगायतका सामान बोक्नुपर्छ । दुई दिनमा रमणीय दृश्यावलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । सहजैरूपमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न सकिने स्थानमा पुग्न सकिन्छ । 

यस्तै भारतीय तीर्थयात्रीहरुले हुम्ला पुगेर साना हेलिकप्टरको प्रयोग गरेर लिमी लाप्चा क्षेत्रमा पुग्ने गर्दछन् । हुम्ला उच्च हिमाली जिल्ला भएका कारण निकै उचाइमा रहेकाले सिधै हेलिकप्टरको प्रयोग गरेर दर्शन गरी फिर्ता हुने गर्दछन् । सदरमुकाम सिमकोट पुगिसकेपछि कतिपय हिंडेरै जाने गर्दछन् भने केहीले हेलिकप्टरको प्रयोग गर्दछन् । 

नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एकमात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । यस वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि यो समयमा अहिलेसम्म सात विदेशी पर्यटक र करीब ६०० भन्दा बढी आन्तरिक पर्यटक लिमी लाप्चा पुगेर कैलाश मानसरोवर दर्शन गरेको बताइएको छ । धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीको धार्मिक विश्वास रहेको छ । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया